विराटनगरमा ० लेभल क्रिकेट अम्पायर तथा स्कोरर तालिम सम्पन्न

विराटनगर । नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ० लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ।

जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए। सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका प्रतिनिधिहरू रहेका थिए।

तालिमको सहजीकरण नेपाल क्रिकेट संघका राष्ट्रिय प्रशिक्षकहरूले गरेका थिए। तालिममा क्रिकेट अम्पायरिङ तथा स्कोरिङसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान, मैदान व्यवस्थापन, विधिको प्रयोग, र स्थानीय क्रिकेट विकासका विभिन्न पक्षबारे जानकारी दिइएको थियो। सहभागीहरूले अम्पायर तथा स्कोररको भूमिकालाई व्यवहारमा उतार्नका लागि अनलाइन र भौतिक अभ्यासहरू पनि गरेका थिए।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक कमल ढकालले तालिमको उद्देश्य अम्पायर तथा स्कोरिङ क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्नुका साथै स्थानीय स्तरमा दक्षता विकास गर्नु रहेको बताए।

उनले भने, क्रिकेटको गुणस्तरीयता बढाउन प्रशिक्षित अम्पायर र स्कोररको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ। यस तालिमले प्रदेशस्तरमा स्थायी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा जिम्मेवारी लिन सक्ने तयारीसमेत गरेका छन्।