‘जनै हराएको मान्छे’ भदौ ६ गते रिलिज हुँदै, विजय बरालको पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन गरी अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ राखिएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्तिहरू र संस्थाहरूले नामप्रति आपत्ति जनाएपछि विवादबाट जोगिन निर्माण टिमले नाम परिवर्तन गरेको हो ।

सिनेमामा अभिनेता विजय बराल मुख्य भूमिकामा छन्, जसको क्यारेक्टर पोस्टर हालै सार्वजनिक गरिएको छ । पोस्टरमा उनी रातो सट लगाएर दुईवटा झोला बोकी घरबाट बाहिर निस्कन लागेका दृश्य देख्न सकिन्छ । यो दृश्यले गाउँबाट सहरको यात्रा र त्यहाँका संघर्षको संकेत गर्दछ ।

निर्माण टिमले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा गरिएको हो । हाल सिनेमा पोस्टप्रोडक्सनको चरणमा रहेको जनाइएको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित यो सिनेमा आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्छ । आगामी भदौ ६ गतेदेखि सिनेमा देशभर प्रदर्शनमा आउनेछ ।