मोरङमा थारू कल्याणकारिणी सभाको नेतृत्व विवाद अन्त्य, विश्वास सभापतिमा वैधानिक
विराटनगर। ।थारू कल्याणकारिणी सभा मोरङमा लामो समयदेखि चलेको नेतृत्व विवाद अन्त्य भएको छ । जिल्ला अदालत मोरङले प्रदीपकुमार भगतको सभापति नेतृत्वलाई अवैधानिक ठहर गरेपछि प्रदीपकुमार विश्वासको सभापतित्वलाई वैधानिक मान्यता प्राप्त भएको हो ।
मोरङमा सभापति पदलाई लिएर भगत र विश्वासबीच विवाद हुँदै आएको थियो । ०८० पुस १५ गते थाकस भवनमा भएको नामावली दर्ता प्रक्रियामा दुवैको नाम “प्रदीपकुमार” रहेकाले निर्वाचन समितिले गोला प्रथामार्फत नाम क्रम निर्धारण गरेको थियो । सो क्रममा विश्वासलाई पहिलो नम्बरमा राखिएको भन्दै भगतले प्रक्रिया किर्ते भएको दाबी गर्दै आफैं निर्विरोध सभापति निर्वाचित भएको घोषणा गरेका थिए ।
यही विवादलाई लिएर भगतले ०८० पुस २९ गते जिल्ला अदालत मोरङमा विश्वास र निर्वाचन अधिकृत जयराम पन्जियाविरुद्ध किर्ते तथा जालसाजीसम्बन्धी मुद्दा दायर गरेका थिए । तर अदालतले ०८२ असार ८ गतेको फैसलामा भगतको दाबी नपुगेको ठहर गर्दै विश्वास नेतृत्वलाई वैधानिक मान्यता दिएको हो ।
यससँगै २०८० चैत ७ गते बुढीगंगा गाउँपालिका–२ बौराहास्थित थारू संग्रहालयमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदीपकुमार विश्वास नेतृत्वको कार्यसमिति आधिकारिक बनेको छ ।
अदालतको निर्णयपछि सभापति विश्वासले संस्थाभित्रको विवाद टुंगिएको भन्दै सबैलाई एकजुट भई थारू समुदायको हक, अधिकार र समृद्धिका लागि अघि बढ्न आह्वान गरेका छन् ।