‘नक्कली प्रचण्ड’ कलाकार घनश्याम गौतमको निधन
काठमाडौं/ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार मिल्दो भएका कारण ‘नक्कली प्रचण्ड’को रूपमा चर्चित कलाकार घनश्याम गौतमको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित गौतमको काठमाडौंस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो। उनको निधनको खबर उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।
गौतम लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। केही समयअघि उनकी श्रीमतीले सामाजिक सञ्जालमार्फत उपचारमा सहयोगका लागि माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्दै आक्रोश व्यक्त गरेकी थिइन्। उनले प्रचण्डले उपचारको आश्वासन दिए पनि अन्ततः बेवास्ता गरेको आरोप पनि लगाएकी थिइन्।
घनश्याम गौतमले विभिन्न कार्यक्रम र प्रस्तुतीहरूमा ‘प्रचण्ड’को अभिनय गर्दै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै आएका थिए। उनको निधनले नेपाली कला क्षेत्रले एक सशक्त कलाकार गुमाएको अनुभूति गरिएको छ।