राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
विराटनगर/ राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार परेका छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
राजावादी समूहले काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्। प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको राप्रपा नेताहरुले जानकारी दिएका छन्।
आन्दोलनकारी नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो।
प्रहरीले आन्दोलनकारीहरुमाथि लाठी प्रहार गरेको थियो। आफ्ना केही कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै पार्टीले विरोध गरेको छ।
राजतन्त्र स्थापना र हिन्दु राज्य माग गर्दै राजावादी राजनीतिक दल र समूहहरुले गत बिहीबारदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
खास लडाइँ अब हुन्छः लिङ्देन
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष थापालाई ससम्मान मुक्त गर्न माग गरेका छन्। मुक्त नगरे भोलि सोमबारबाट काठमाडौं ठप्प पार्ने चेतावनी उनले दिए।
‘हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ’ लिङदेनले प्रदर्शनकारीमाझ बोल्दै भने, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं?’
थापालाई ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द गर्ने पनि उनले बताए।