सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
विराटनगर । सर्लाहीको बरहथवा नगरपालिका–१७, कटानीस्थित नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब पौने तीन बजे ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर झन्डै तीन मिटर तल खस्दा चालकको घटनास्थलमै गम्भीर चोट लागी मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
दुर्घटनामा परेका मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम राय रहेका छन्। इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टराईका अनुसार राय कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा पुलबाट मोटरसाइकल खसेको थियो।
दुर्घटनापछि घाइते रायलाई बरहथवास्थित भेनस अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि बारा जिल्लाको एल.एस. न्युरो अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ।
हाल मृतकको शव एल.एस. न्युरो अस्पताल बारामै राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।