भरुवा बन्दुकसहित मोरङबाट दुई जना पक्राउ

विराटनगर/ मोरङको केराबारी गाउँपालिका–६ स्थित तामाङ टोलबाट एक नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तबिर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले हिजो राति साढे १० बजे श्रेष्ठको घरमा छापा मार्दा, कोठाभित्र लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक फेला पारेको थियो। त्यसै कोठामा रहेका श्रेष्ठ र तामाङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो।

हाल पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।