अमेरिकाले १४ देशविरुद्ध आयात कर बढाउने ट्रम्पको घोषणा, अगस्ट १ देखि लागू हुने
विराटनगर । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशबाट हुने वस्तु आयातमा उच्च कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका पत्रहरू अनुसार अब ती देशहरूबाट अमेरिका भित्रिने सामानहरूमा २५ देखि ४० प्रतिशतसम्म आयात कर लाग्ने भएको छ।
सीएनबीसी न्युजका अनुसार ट्रम्पले सोमबार जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र म्यानमारका नेताहरुलाई करसम्बन्धी पत्र सार्वजनिक गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। त्यसबाहेक उनले बोस्निया तथा हर्जगोभिना, ट्युनिसिया, इन्डोनेसिया, बंगलादेश, सर्बिया, कम्बोडिया र थाइल्यान्डका लागि अर्को सात देशका नेताहरुलाई पनि पत्र पठाएका छन्।
आयात करको दर यसप्रकार छ:
२५ प्रतिशत कर: जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, ट्युनिसिया
३० प्रतिशत कर: दक्षिण अफ्रिका, बोस्निया
३२ प्रतिशत कर: इन्डोनेसिया
३५ प्रतिशत कर: बंगलादेश, सर्बिया
३६ प्रतिशत कर: कम्बोडिया, थाइल्यान्ड
४० प्रतिशत कर: लाओस, म्यानमार
ट्रम्पका अनुसार यी शुल्कहरू आगामी अगस्ट १ देखि औपचारिक रूपमा लागू हुनेछन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अन्य थप देशहरूसँग पनि यस सम्बन्धमा पत्राचार हुने र आवश्यकता अनुसार आयात करको दायरा अझ बढ्न सक्ने संकेत दिएकी छन्।
ट्रम्पले आफ्नो निर्णयलाई “अमेरिकी उद्योगको संरक्षण र असमान व्यापार प्रणालीलाई सन्तुलित बनाउने प्रयास” भन्दै औचित्य दिएका छन्। उनले भनेका छन्, “हामी आफ्ना कामदार, उद्योग र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिन्छौं।”