सुनको गहनाको लागी हत्या गरेको आरोपमा महिला पक्राउ

विराटनगर। सुनको गहनाका लागि मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तिलमाया शनिबारदेखि घरबाट सम्पर्कविहीन बनेकी थिइन्। खोजीका क्रममा ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा आइतबार अपराह्न मृत फेला परिन्।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तिलमाया नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेकी हुन्। प्रहरीका अनुसार घरबाट तिलमायालाई नहरमा डुबेको अवस्थामा देखेर हत्या आरोपी सीताकी छोरी १९ वर्षीया सोनु ऋषिदेवले उद्धार गरी आफ्नो घरतिर लगिन्। भिजेका कपडा फेरिदिइन्। त्यसपछि आफ्नै घरमा छाडेर सोनु नजिकै रहेको मामाघरतिर गइन्।

उनी गएपछि आमा सीताले वृद्धाले कानमा लगाएका मुन्द्री निकालेर उनलाई नहरमा फालेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कानका मुन्द्री निकालेर राखेपछि वृद्धालाई नहरमै हालिदिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुनका गहनाको लागि सीताले वृद्धाको हत्या गरेको पत्ता लागेको छ।

वृद्धाले लगाएका मुन्द्री सीताको घरभित्र खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको छ। वृद्धाले लगाएका कपडा पनि घरभित्रै भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी सीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। वृद्धाका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दा चलाउन किटानी जाहेरी दिएपछि प्रहरीले थप प्रक्रिया अघि बढाउन लागेको हो।

विराटनगरको कोशी अस्स्पतालमा पोस्टमार्टम गरेपछि शव परिवारका सदस्यले बुझेर अन्त्येष्टि गरिसकेका छन्। घटनाका विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।