मनाङमा हराएका दुई भारतीय नागरिकको शव फेला

बिराटनगर । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार मृतकहरूमा ५२ वर्षीय जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल रहेका छन्।

उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बस्दै आएका थिए। कात्तिक ३ गते उनीहरूले सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाने बताएर होटलबाट निस्किएका थिए। त्यसयता उनीहरू सम्पर्कविहीन बनेका थिए।

सम्पर्क टुटेपछि होटलले सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा नभेटिएपछि आज पुनः सशस्त्र प्रहरी नायब उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव फेला पारेको हो।

थापाका अनुसार उनीहरूको शव मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा भेटिएको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।