मोरङ र पाँचथरमा लागू औषध सहित ९ जना पक्राउ

विराटनगर। मोरङ र पाँचथर जिल्लाबाट लागू औषधसहित ९ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई जेठ २५ गते विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित ३८ वर्षीय रजत थापा (मिथुन)लाई इलाका प्रहरी कार्यालय उर्लाबारी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले उनको घरबाट ५५ ग्राम ब्राउन सुगर, नगद २ लाख ८८ हजार २ सय ५० रुपैयाँ र २ वटा डिजिटल तराजु सहित पक्राउ गरेको छ।

त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैचा नगरपालिका–३ का २१ वर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका–१६ बाट ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी–२, लालभित्तीबाट त्यहींका २८ वर्षीय बिट्टु भगत र सुन्दरहरैचा–१२ का ३४ वर्षीय मिथलेस शर्मालाई २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

पाँचथर जिल्लाको फिदिम नगरपालिका–२ बाट जिल्ला प्रहरी कार्यालय पाँचथरले ३ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित २७ वर्षीय दिपेन केरुङ, २३ वर्षीय बिरबल राई, ३० वर्षीय गणेश सुजी, ३२ वर्षीय पर्वत तामाङ र १९ वर्षीया रिदिमा बर्देवालाई पक्राउ गरेको छ।

प्रहरीले लागू औषध सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।