कोशी प्रदेशमा मनसुन सुरु भए पनि सक्रिय हुन सकेन, अझै केही दिन विस्तार नहुने

काठमाडौं। नेपालमा यो वर्षको मनसुन सरदर मितिभन्दा १५ दिनअघि नै जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। तर, केही दिन सक्रिय भएर मनसुनी प्रणाली पूर्वी एसिया फर्किएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार फिलिपिन्स आसपासको क्षेत्रमा बनेको शक्तिशाली न्यून चापीय क्षेत्रका कारण मनसुन पूर्वी एसियातर्फ सोहोरिएको हो। “मनसुन कोशीबाट देशभर फैलिन नपाई फर्कियो,” उनले भने, “निकट भविष्यमै मनसुन फैलिने सम्भावना छैन।”

मनसुन सुरु भएसँगै जेठ १७ गते पूर्वी नेपालमा व्यापक वर्षा भएको थियो। धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको थियो। झापामा माइखोलाको बाढीले २२ घर डुबानमा परेका थिए। त्यसपछि देशका अधिकांश भागमा उल्लेखनीय वर्षा भएको छैन।

पश्चिम र मध्य नेपालमा स्थानीय तथा पश्चिमी वायुले सक्रियता देखाए पनि मनसुनी वायु कमजोर भएको मौसमविद् झाको भनाइ छ। बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त वायुले अपेक्षित शक्ति नपाएकाले मनसुन कमजोर भएको उनले बताए। यसको असरस्वरूप देशभर तापक्रम अस्वाभाविक रुपमा बढेको छ।

मौसमविद्हरूले मनसुन सुरु भएलगत्तै यस्तो ‘ब्रेक’ हुनु राम्रो संकेत नरहेको जनाएका छन्। “यसले कतै अत्यधिक वर्षा र कतै खडेरी ल्याउने सम्भावना रहन्छ,” झाले भने।

उनका अनुसार भोलि बुधबारदेखि देशका केही क्षेत्रमा बदली सुरु भई वर्षा हुनसक्नेछ। बङ्गालको खाडी र भारतको मध्य भूभागमा विकसित भइ रहेको नयाँ न्यून चापीय प्रणाली नेपालतर्फ सर्न थालेको उनले जनाए।

यस वर्ष मौसम विभागले औसतभन्दा बढी वर्षा र उच्च तापक्रमको पूर्वानुमान गरिसकेको छ। त्यसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना लागू गरेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले करिब २० लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिँदै त्यसको १० प्रतिशतसम्मलाई उद्धार तथा राहत आवश्यक पर्न सक्ने सम्भावनाका आधारमा तयारी गरिएको बताए।