पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चार जना सकुशल उद्धार

पोखरा। पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा अनियन्त्रित भई फेवा तालमा खसेका चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका दुई वटा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा सन्तुलन गुमाएर फेवा तालको बीच भागमा खसेका थिए। दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको फेवा रेस्क्यु टावरको टोलीले दिउँसो करिब ३ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका व्यक्तिहरूमध्ये भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल रहेका छन्। उनीहरूसँगै अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले समयमै उद्धार कार्य सम्पन्न गरेकाले ठूलो मानवीय क्षति हुन नपुगेको जनाएको छ।