गम्भीर मुद्दामा हाँसोको धार, प्रभात लामाको परिपक्व प्रस्तुति चर्चामा

विराटनगर/ यति बेलाका चर्चित कमेडियन प्रभात लामाले उठाएको चुनौतीलाइ मान्ने पर्छ। उनले ‘कमेडी नाइट विथ च्याम्पियन’को मञ्चमा पूर्वमन्त्री मोहम्मद आफताव आलम बनेर यस्तो व्यङ्ग्य प्रहार गरे, जुन अदालतको फैसला भन्दा सिधा देखियो।

भर्खरै पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगन्जले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटको मुद्दामा सफाइ दियो । जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको उक्त फैसला बदर गर्दै आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालतको यस फैसलालाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध समेत भएको थियो । यही विषयलाई केन्द्रमा राखेर कमेडियन प्रभात लामाले कमेडी नाइट विथ च्याम्पियनको पछिल्लो एपिसोडमा दिएको प्रस्तुति अहिले चर्चामा छ ।
कार्यक्रममा आलमकै लवज, हाउभाउ र ‘ठट ठट ठट्टा गर्नुहुन्छ’ भन्ने आलमकै बोल्ने शैली सहित स्टेजमा उत्रिएका लामा जब इँटाभट्टामा मान्छे जलाउने आरोप र वकिललाई गरगहना दिने प्रसंगलाई हाँसोको मसला बनाएर प्रस्तुत गरे, हल ताली र हाँसोले गुञ्जियो।

सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, नीशा डाँगी र असिम साह पनि लामाको प्रस्तुतिमा मुस्काइरहेका थिए – सायद अदालतको निर्णयभन्दा प्रभातको व्यङ्ग्यमा बढी न्याय भेट्टाए।

यसअघि केशव स्थापितदेखि महावीर पुनसम्मको क्यारिकेचर गरिसकेका लामाको यो प्रस्तुति चर्चित त भयो, तर अझै पनि उनलाई स्थापित कलाकारको सूचीमा राख्ने काम भने दर्शकले गर्न बाँकी छ।