शिवसताक्षीका सरोज शर्माको शव बिरिङ पुलमुनी फेला, हत्या भएको आशंका

विराटनगर । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० का ३५ वर्षीय सरोज शर्माको शव बिरिङ खोलाको पुलमुनी गाडिएको अवस्थामा फेला परेको छ। शनिबार बिहान स्थानीयले कालो प्लास्टिकमा बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

दुई दिनअघि मात्रै शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो। गाडी जलेको दुई दिनपछि शव भेटिएपछि घटनालाई हत्या गरिएको आशंका गरिएको छ।

प्रहरीका अनुसार शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट ‘गाडी धुने’ भन्दै निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। झन्डै सात दिनपछि उनको शव भेटिएको हो।

अनुसन्धानका क्रममा जिल्लाका विभिन्न बजारमा शर्मालाई घुमिरहेको देखिने सिसिटिभी फुटेज प्राप्त भएको प्रहरीले जनाएको छ। तीमध्ये अन्तिम पटक उनी सुरुङा क्षेत्रमा देखिएका थिए। उक्त फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।

शर्मा काठमाडौंमा बस्दै आएका थिए र सेन्लटस कम्पनीको गाडी चलाउँथे। दशैं मनाएर घर आएका उनी छठ पर्व सकिएपछि पुनः काठमाडौं फर्कने तयारीमा थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Add a Comment