रौतहटमा दुई जना ट्रामाडोलसहित पक्राउ
विराटनगर । रौतहट प्रहरीले लागू औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१६ तामाङटोलका २७ वर्षीय बुद्धसिंह वाइवा र हरिवन नगरपालिका–३ श्रीपुरका २४ वर्षीय शरिन योञ्जन रहेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा रहेको ट्राफिक चेकपोइन्टमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नम्बरको स्कुटर चेक गर्दा उक्त स्कुटरको हेन्डलमा झोलामा लुकाइएका १ सय ३० पिस ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार ट्रामाडोल रेनकोटको झोलामा लुकाइराखिएको अवस्थामा फेला परेको हो।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
