रतुवामाईमा सुतिरहेको अवस्थामा युवकको मृत्यु
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक सुतिरहेको अवस्थामा मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका–२ घर भई रतुवामाईमा ट्याक्टर मजदुरको रूपमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादवको रहस्यमय मृत्यु भएको हो।
बुधबार राति बाँसको चौतारामा सुतेका यादव बिहीबार बिहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय, रतुवामाईले जानकारी दिएको छ। प्रहरीका अनुसार यादवको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको थियो।
घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई सर्पले टोकेको आशंका गरिएको छ। तथापि यथार्थ कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको प्रहरी स्रोतले जनाएको छ।
यादव केही समयदेखि रतुवामाईमा ट्याक्टर मजदुरी गर्दै आएका थिए। स्थानीयहरूका अनुसार उनी नियमित रूपमा त्यही चौतारामा सुत्ने गर्थे। घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ।