धार्मिक सद्भाव र सामाजिक सेवामा प्रेरणादायी पात्र : करिम अन्सारी
विराटनगर / विराटनगरका करिम अन्सारी सामाजिक अभियानका क्षेत्रमा एक प्रेरणादायी पात्रका रूपमा परिचित हुँदै गएका छन्। मुस्लिम धर्मावलम्बी भएपनि उनी धार्मिक सद्भाव र मानवसेवामा समर्पित छन्। पछिल्लो समय उनको चर्चा मुलुकभर फैलिएको छ।
करिम अन्सारीले विगत दुई वर्षदेखि हिन्दु रीतिरिवाजअनुसार घाटसम्म मृतकको शव पुर्याउने निःशुल्क मलामी बस सेवा सञ्चालनमा ल्याएका छन्। यो सेवा उनले आफ्नो व्यक्तिगत लगानीमा सञ्चालन गर्दै आएका छन्। साथै, वृद्ध र अशक्त आमाबुवाहरूलाई विभिन्न तीर्थस्थलमा निःशुल्क यात्राको सुविधा पनि प्रदान गर्दै आएका छन्। यस अभियानबाट समाजमा धार्मिक सहिष्णुता र मानवतावादी दृष्टिकोणको उदाहरण प्रस्तुत भएको छ।
उनको सामाजिक सेवाको दायरा यतिमा मात्र सीमित छैन। वर्तमान समयमा निजी र सार्वजनिक विद्यालयबीचको खाडललाई नजिक ल्याउने प्रयासस्वरूप उनले सरकारी विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क सार्वजनिक बस सेवा पनि सञ्चालनमा ल्याएका छन्। सरकारको लगानी हुँदाहुँदै पनि सार्वजनिक विद्यालयको अवस्था दिनानुदिन कमजोर हुँदै गएको अवस्थामा करिमको यो पहलले ठूलै सहयोग पुगेको छ।
३५ वर्षीय करिम अन्सारी आफूले बाल्यकालमा शिक्षाका लागि निकै संघर्ष गर्नु परेको अनुभव साझा गर्दै भन्छन्, “आर्थिक अभावका कारण म राम्रो शिक्षा लिन सकिनँ। अहिलेको पहलबाट म चाहन्छु, सामान्य परिवारका बालबालिकाले त्यो पीडा भोग्न नपरोस्।”
करिम अन्सारी आजका पुस्ताका लागि सामाजिक उत्तरदायित्व, धार्मिक सहिष्णुता र मानवताको जीवित उदाहरण बनेका छन्। उनको अभियानले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको
छ।
स्वस्तिका भट्टराई महेन्द्र मोरङ क्याम्पस अध्ययनरत