फिल्म ‘अञ्जिला’ प्रदर्शनको १०० दिन नजिक, दर्शकलाई विशेष सहुलियत
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ प्रदर्शनको सय दिन नजिक पुगेको छ।
गत वर्ष फागुन २९ गते रिलिज भएको यो फिल्म बिहीबारदेखि प्रदर्शनको ९२ औँ दिनमा प्रवेश गरेको छ। राजधानीको क्युएफएक्स चेनअन्तर्गत सामाखुसीस्थित सिटी स्क्वायर मलमा फिल्म अझै पनि नियमित रूपमा प्रदर्शन भइरहेको छ।
निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार फिल्मले हालसम्म १२ करोड रुपैयाँभन्दा माथिको व्यापार गरिसकेको छ। फिल्म सय दिन पूरा गर्न नजिकिँदै गर्दा दर्शकलाई विशेष सहुलियत दिने योजना बनाइएको उनले बताए।
‘दर्शकहरू स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनुभएको छ। सय दिन नजिकिँदा क्युएफएक्सले टिकट दर घटाएर सय रुपैयाँमा फिल्म देखाउने निर्णय लिएको छ। हामीले पनि त्यसलाई समर्थन गरेका छौं,’ निर्माता श्रेष्ठले जानकारी दिए।
मिलन चाम्स निर्देशित ‘अञ्जिला’मा एन्जिला तुम्बापो सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।