नेपाली सिनेमा ‘महाभोज’ को विराटनगरमा भव्य प्रिमियर सम्पन्न
विराटनगर। सामाजिक यथार्थ र जनसरोकारका विषयवस्तुमा आधारित नेपाली सिनेमा ‘महाभोज’ यही जेठ ३० गते (शुक्रबार) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको छ। प्रदर्शनको अघिल्लो दिन, बिहीबार विराटनगरस्थित सेन्ट्रल मल्टीप्लेक्समा सिनेमाको भव्य प्रिमियर शो सम्पन्न भएको छ।
प्रिमियरमा सिनेमाका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत, सहकारी पीडित महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसी लगायत निर्माण टिमको उपस्थिति थियो।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, जसपा मोरङका अध्यक्ष एम.डी. नसरुल, सचिव विकास मण्डल, नेपाली कांग्रेस निकट युवा नेता कृष्ण कार्की, राष्ट्रिय युवा संघ मोरङ उपाध्यक्ष मजहर आलम, कुवेर फिल्म डिस्ट्रीब्युसन प्रमुख पुष्कर घिमिरे, स्थानीय सहकारी पीडितहरू, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए।
सिनेमा अवलोकनपछि दर्शकहरूले यसको कथा, प्रस्तुतीकरण शैली र कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छन्। कतिपय दर्शकहरूले यस्ता सामाजिक महत्वका सिनेमाहरू देशका दुरदराजका जनतासम्म निःशुल्क पुर्याउन निर्माण टिमलाई सुझाव पनि दिएका थिए।
महानगरपालिका सहकारी साखाका कर्मचारीहरू समेत सिनेमा हेर्न पुगेका थिए। उनीहरूले प्रतिक्रिया दिँदै भने, “जनताको तर्फबाट भन्नुपर्दा, यो सिनेमा नेताहरूलाई थपड हानेजस्तै लाग्यो।” यद्यपि, सिनेमाको अन्त्यमा देखाइएको विद्रोह कानुनी माध्यममार्फत समाधान खोजिएको भए अझ सशक्त र गहिरो सन्देश दिन सक्ने धारणा पनि उनीहरूले व्यक्त गरे।
यसअघि काठमाडौं, पोखरा, बुटवल, धरान लगायतका शहरहरूमा पनि सफल प्रिमियर सम्पन्न भइसकेको छ। निर्माण टिम विभिन्न सहरमा कलाकारसहित पुगेर प्रचार–प्रसारमा सक्रिय देखिएको छ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुती रहेको यस सिनेमाको निर्माण हिमाल कडरियाले गरेका हुन्। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको सशक्त अभिनय ‘महाभोज’ मा हेर्न पाइनेछ।
सहकारी आन्दोलन, सामाजिक विभेद र विद्रोहको कथालाई उठान गर्ने सिनेमाको देशभर अग्रिम टिकट बुकिङ खुला भइसकेको निर्माण टिमले जानकारी दिएको छ।