“किर्तिस्तान पठाउने बहानामा करोडौं ठगी : मुख्य अभियुक्त अझै फरार”
विराटनगर ।विदेशी रोजगारीको सपनामा रंग भर्ने बहानामा काठमाण्डौंबाट ठगिएका झण्डै २० जना पीडित विराटनगर आइपुगेका छन्। उनीहरू नक्कली भिसा देखाएर ठगी गर्ने मेनपावर सञ्चालकहरुको खोजीमा छन्।
काठमाण्डौंस्थित सेप साइन ओभरसिज प्रालिले किर्तिस्तान पठाइदिने भन्दै चैत महिनामा २० जनाबाट झण्डै एक करोड रुपैयाँ असुली ठगी गरेको उजुरी परेको छ। यस प्रकरणमा संलग्न ओभरसिज कम्पनीका सञ्चालक सुकबहादुर गजमेर र बिन्दु गजमेर यसअघि पक्राउ परे पनि धरौटीमा रिहा भइसकेका छन्।
पीडितका अनुसार मुख्य ठगका रूपमा चिनिएका फिरोज मन्सुर हाल विराटनगर–१२ मा बसाइँ सरेका छन्। उनका स्थायी ठेगाना मधेश प्रदेश, धनुषा जिल्ला, तारापट्टी सिर्सिया–९ हो। ठगीको शिकार भएकी इन्द्रकुमारी खत्रीले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा विभागले मोरङ प्रहरीलाई मन्सुरलाई पक्राउ गरी विभागमा बुझाउन पत्राचार गरेको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट मन्सुर पक्राउको अनुमति २०८२ बैशाख २५ गते नै दिइएको भए पनि विभागले पत्राचार गरेको एक महिनापछि पनि उनलाई पक्राउ नगरिएको पीडित पक्षको गुनासो छ।
खत्रीका अनुसार नक्कली भिसा देखाएर रकम उठाउने गिरोहमा बेदबहादुर कार्की समेत सक्रिय थिए। उनले नक्कली भिसा तयार पारी ओभरसिज सञ्चालक गजमेर दम्पती र मन्सुरमार्फत ठगीको योजना बनाएको आशंका गरिएको छ।
तर मोरङ प्रहरी अझै मन्सुरको विराटनगर बसाइँ सरेको पुष्टि गर्न नसकेको बताइएको छ। प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक कोपिला चुँडालका अनुसार धनुषाबाट बसाइँ सरेको प्रमाण नपुगेकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सकिएको छैन। “पीडितसँग प्रमाण मागिएको छ, प्रमाण आएपछि प्रक्रिया अघि बढ्छ,” चुँडालले भनिन्।
उनका अनुसार विभागको पत्र मात्र आधार बनाएर खोजी प्रक्रिया अघि बढाउन सकिने अवस्था छैन। “ठोस प्रमाणसहित खोजतलास गरिरहेका छौं, फेला परेपछि विभागमा बुझाउनेछौं,” उनले स्पष्ट पारेकी छन्।
यद्यपि यो घटना केवल वैदेशिक रोजगारी ठगीको मात्र नभई मानव बेचबिखनसमेत हुन सक्ने संकेत गर्दै चुँडालले घटनामा ठूलो गिरोहको संलग्नता रहेको आशंका व्यक्त गरिन्।