आज देशभर साउने सङ्क्रान्ति मनाइँदै

विराटनगर। आज बिहीबार देशभर साउने सङ्क्रान्ति पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा विशेषगरी स्नान, दान, पूजा र आफन्तजनसँग भेटघाट गरी रमाइलो गर्ने चलन छ।

सौरज्योतिषअनुसार आजको दिन सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्छ, जसलाई साउने सङ्क्रान्तिको रूपमा लिइन्छ। यही दिनदेखि सूर्यको गति दक्षिणतर्फ लाग्ने भएकाले दक्षिणायन सुरु हुने मान्यता छ। यो दिनलाई धार्मिक दृष्टिले पवित्र दिन मानिन्छ भने यससँगै उत्तरायण र दक्षिणायनलाई हिन्दू परम्परामा विशेष महत्व दिइन्छ।

साउने सङ्क्रान्तिको अवसरमा विशेषगरी लुतो फाल्ने परम्परा पनि छ। असार महिनाभर खेतमा काम गर्दा शरीरमा लाग्न सक्ने छालाका रोग निवारणका लागि आजको दिनलाई उपयुक्त मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीय वनस्पति प्रयोग गरी “कण्डारकु” नामक राक्षसको पूजा गर्ने परम्परा रहेको छ।

लुतो फाल्ने क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन विभिन्न समुदायमा पाइन्छ। यिनलाई नकारात्मक ऊर्जा र रोगहरू हटाउने प्रतीकका रूपमा हेरिन्छ।

साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। विशेषगरी महिलाहरू हरियो चुरा, रातो पहिरन, मेहन्दी, र नयाँ लुगा लगाएर श्रद्धाका साथ व्रत बस्ने चलन प्रचलित छ। यस महिनामा हरियो र रातो वस्त्र तथा श्रृङ्गार सामग्रीको व्यापारमा पनि उल्लेख्य वृद्धि हुने गर्छ।

देशभर आज धार्मिकस्थलहरूमा भक्तजनहरूको भिड लागेको छ भने नदी, तलाउ तथा पवित्र स्थानमा स्नान गर्नेहरूको संख्या पनि उल्लेखनीय देखिएको छ।