प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिने

विराटनगर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। उनले आइतबार साँझ पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाए पनि स्वास्थ्य मन्त्रालयका लागि प्रस्तावित संगीता कौशल मिश्राको नाम अन्तिम चरणमा हटाइएको छ। मिश्राको नाम सिफारिस भएलगत्तै विभिन्न विवादास्पद तथ्यहरू सार्वजनिक भएपछि प्रधानमन्त्रीले उनलाई सिफारिस सूचीबाट हटाएकी हुन्।

राष्ट्रपति कार्यालयमा पठाइएको बाँकी चार जनाको नाम अनुमोदन भएपछि आज सोमबार नै शपथग्रहण हुने भएको छ।

प्रधानमन्त्री कार्कीले मन्त्री पदमा सिफारिस गरेका नामहरूमा अनिलकुमार सिन्हा (उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय), महावीर पुन (शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय), मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास मन्त्रालय) र जगदीश खरेल (सूचना तथा सञ्चार मन्त्रालय) रहेका छन्।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले यसअघि २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरिसकेकी थिइन्। नयाँ मन्त्रीहरूको समावेशसँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् थप विस्तारित भएको छ।

Add a Comment