एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ। यसका लागि राष्ट्रिय परीक्षा बोर्डले धमाधम तयारी गरिरहेको छ। उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ।

सामान्यतया असार पहिलो साता नतिजा सार्वजनिक हुँदै आएको छ। शिक्षक–कर्मचारीले चैत २० चैतदेखि २९ दिनसम्म काठमाडौंमा भेला भएर आन्दोलन गरेका थिए। त्यही कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षणको काम ढिलो सुरु भएकाले नतिजा प्रकाशनको समय पछि सरेको हो। उनले असार तेस्रो साता नतिजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिए।

चैत ७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

गत वर्ष एसईईमा १८६ जनाले जीपीए ४ ल्याएका थिए। ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका थिए। परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाएका थिए।

यस्तै, ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका थिए। बोर्डका अनुसार उक्त परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएकामा २२१ जनाको परीक्षा रद्द गरिएको थियो।

पछिल्लो समय लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुँदै आएको छ। निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुन्छन्।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुने व्यवस्था छ।

उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ। त्योभन्दा कम अङ्क ल्याउने ‘एनजी’ मा परेका हुन्। दुई विषयमा ‘एनजी’ ल्याएका विद्यार्थीले पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जानकारी दिएको छ।

बोर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्दै आएको छ। २०७८ मा निर्देशिका संशोधन गरेर ग्रडेड हुन वा माथिल्लो कक्षामा भर्ना हुनका लागि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ।

Add a Comment