अदालतको आदेशपछि इन्द्रकुमार योन्जन तामाङ पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा
विराटनगर। उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङ पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा फर्किएका छन्। अदालतले पूर्वस्थितिमा बहाली गर्न आदेश दिएपछि तामाङले मंगलबार समितिको कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
तामाङ २०८० साल चैत २३ गते चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका थिए। तर २०८१ साल भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले उनलाई पदबाट हटाएका थिए। बस्नेतले आफू निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप लाग्दै आएको थियो।
तामाङलाई हटाएर २०८१ माघ १७ गते बसेको बोर्ड बैठकले सुरज श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। श्रेष्ठ नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बस्नेतसँग निकट सम्बन्ध भएका व्यक्तिका रूपमा चिनिन्छन्।
पदच्युत भएपछि तामाङले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परामादेशको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा फैसला गर्दै उनलाई पुनः बहाल गर्न आदेश दिएको हो।
कार्यभार ग्रहण गर्दै तामाङले राजनीतिक पूर्वाग्रहका कारण आफूलाई पदबाट हटाइएको दाबी गरे। उनले भने, “मलाई राजनीतिक प्रतिशोध स्वरूप हटाइएको थियो तर अदालतले कानुनी प्रक्रियामार्फत न्याय दिलायो। लोकतन्त्रमा अदालतप्रति जनताको विश्वास अझै मजबुत भएको छ।”
तामाङले जिल्लाको खेलकुद गतिविधिलाई सक्रिय बनाउने प्रतिबद्धता जनाउँदै भने, “अब सबै खेल संघ र खेलाडीहरूसँग सहकार्य गर्दै निष्पक्ष तथा पारदर्शी रूपमा समितिको नेतृत्व गर्ने छु।”
साथै अध्यक्ष तामाङले च्याम्पियन्स कराँते एकेडेमीका सञ्चालक तथा कोच सुरज कामतलाई केन्द्रबाट दर्ता भएको एकेडेमीको लाइसेन्स पनि हस्तान्तरण गरेका छन्।