ओलीको टिप्पणी : ‘गृहमन्त्री बनेपछि मात्रै नाम सुनेँ, बाबूलाई धेरै नचम्किन सुझाव’
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कटाक्ष गर्दै आफूले उनीबारे पहिले नचिनेको बताएका छन् ।
जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले गृहमन्त्री अर्यालको नाम गृहमन्त्री बनेपछि मात्रै सुनेको बताए । उनले हँस्याउँदै भने, “तपाईंहरूले अहिलेका गृहमन्त्रीको नाम पहिले सुन्नु भएको थियो ? मैले त नाम पनि सुनेको थिइनँ । गृहमन्त्री भएपछि मात्रै थाहा पाएँ ।”
गृहमन्त्री अर्याललाई ‘बाबू’ सम्बोधन गर्दै ओलीले संयमित रहन सल्लाह दिए । उनले भने, “गृहमन्त्री बाबूलाई धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सुझाव दिन्छु । देश चलाउने र राजनीति ख्यालठट्टा होइन । जिम्मेवारीका साथ अघि बढ्न आवश्यक छ ।”
अध्यक्ष ओलीले हालको राजनीतिक अवस्थाप्रति पनि टिप्पणी गर्दै नेतृत्वले परिपक्वता र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।