निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर सिनेमा ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने

विराटनगर। निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर सिनेमा ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा सिनेमाको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हुन्।

निर्देशक थापाले यो सिनेमा लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट सिनेमाको नाम भने सार्वजनिक गरिएको थिएन। निर्देशक थापाले दश वर्षअघि सिनेमा ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झेका छन्।

उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा प्राविधिकहरूलाई करियरको उचाइमा पुर्याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का। हुन पनि ‘प्रेमगीत’ लाई एउटा उदाहरणीय प्रेमिल सिनेमा मान्न सकिन्छ। यो सिनेमा सबै वर्गका दर्शकहरूको मन जित्न सफल भएको थियो।

अब निर्देशक थापा र अभिनेता खड्कालाई प्रेमगीतभन्दा सफल सिनेमा बनाएर फेरि एकचोटि दर्शकहरूको मन जित्नु पर्ने चुनौती भने पक्कै छ। त्यस्तो प्रेमकथामा आधारित सिनेमा बनाउन निर्देशक थापा सफल पनि छन् भने लभर ब्वाइ भूमिकामा अभिनेता खड्का पनि रुचाइएका छन्।

अहिले बन्न लागेको सिनेमा ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो। यो सिनेमाले समाजको मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई सिनेमामा दर्शाउने छ, निर्देशक थापा भन्छन्।

यो सिनेमा लागि अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन। छिट्टै नै अभिनेत्री लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायांकनमा जाने तयारी गरिएको जानकारी प्राप्त भएको छ। निर्देशक थापाका प्रेमकथामा आधारित सफल निर्देशनीय सिनेमा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ आदि हुन्।

Add a Comment