आज केहि स्थानमा वर्षा हुने सम्भावना

विराटनगर। देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने र कोसी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सक्रिय मनसुनी वायुको प्रभाव देखिएको छ। पश्चिम भू-भागमा पश्चिमी तथा स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।