सिन्धुपाल्चोकको भोटेकोसीमा पहिरो, अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

विराटनगर। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका तीन स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको अविरल वर्षासँगै पहिरो जाँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानीसमेत रोकिएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङ क्षेत्रमा पहिरो खसेको हो। सडक पन्छाउने काम जारी रहे पनि अहिलेसम्म राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

यसैबीच, भोटेकोसी–२ को लिपिङ बजारमा गएको पहिरोले तीन घरमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन्। पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने तथा सुरक्षित स्थानमा सर्न आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

Add a Comment