कन्काई नदीमा पुल नबन्दा स्थानीयको विरोध
झापा। हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर–विराटनगर जोड्ने सडकखण्डमा पर्ने कन्काई नदीको पुल वर्षौँदेखि नबन्दा स्थानीय बासिन्दा र यात्रुहरूले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका छन्।
विभिन्न सरकार परिवर्तन र शीर्ष नेताहरूको अवलोकन भ्रमण भए पनि उक्त पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूले पुल स्थल निरीक्षण गरे पनि काम अघि नबढेको स्थानीयको गुनासो छ।
ठेकेदारको लापरबाही र सम्बन्धित निकायको उदासीनताका कारण पुल अधुरो रहेको स्थानीयहरूले आरोप लगाएका छन्। पुल नबन्दा हिउँदमा भाटाका अस्थायी पुल र बर्खामा डुङ्गा प्रयोग गरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय सञ्जय ठाकुरले बताए।
“पुल पार गर्दा १०० देखि २०० रुपैयाँसम्म तिर्नुपर्छ,” ठाकुरले भने। उनका अनुसार सो पुल गौरीगञ्ज गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत निर्माणको जिम्मा दिएको हो।
यसैबीच, आज स्थानीय युवाहरूले एक घण्टा धरना कार्यक्रम गरेका थिए । पुल कहिले बन्छ सरकार?भ्यु टावर भन्दा पुल चाहिन्छ लगायत लेखिएका प्लेकार्ड र ब्यानर बोकेर सरकारलाई ध्यानाकर्षण गरेको स्थानीय युवा मुकेश राजबंशीले जानकारी दिए।
पुल नबन्दा जोखिम मोलेर यात्रा गर्नुपरेको र जनताको दैनिकीमा ठुलो समस्या परेको स्थानीयहरूले बताएका छन्।