नारायणगढ–बुटवल सडकखण्ड पुनः अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बिराटनगर । अविरल वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।

प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउनुका साथै काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको छ। तर, बस धेरै नबगेको र सबै यात्रु सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

दाउन्ने र दुम्कीबास क्षेत्र आसपासको सडक खण्डमा वर्षापछि सडक हिलो र चिप्लो बनेको भन्दै प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

पूर्वबाट पश्चिम गइरहेका सवारीसाधनका लागि नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न र काठमाडौंबाट पश्चिम गइरहेका गाडीका लागि पनि सोही मार्ग प्रयोग गर्न भनिएको छ।

त्यस्तै, पश्चिमबाट पूर्व आउने सवारीसाधनले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग प्रयोग गर्न सक्ने र साना सवारीसाधनले अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक मार्ग प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।