हिमालय दर्शन कलेजका विद्यार्थीलाई सचेतना

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका विद्यार्थीहरुलाई लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी सचेतना गराएको छ ।

नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन कलेज परिसरमा बिहीबार हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सचेतना गराएको हो ।

संघका अध्यक्ष देशबन्धु ढकालले पछिल्लो समय युवा पुस्ताहरूमा लागुऔषधको दलदलमा फस्ने गरेको भन्दै उनीहरूलाई कुलतमा लाग्न नदिन हिमालय दर्शन कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सचेतना गराएको जानकारी दिए । ‘आजका युवाहरू लागुऔषधको भ्रमजालमा फस्दै गएका छन् । उनीहरूलाई यसको हानिकारक प्रभावबारे जानकारी दिएर सचेत बनाउनु हाम्रो पनि दायित्व हो,’ अध्यक्ष ढकालले भने । उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले अहिलेको युवा पुस्ताहरूमा कुसंस्कारमा लाग्ने गरेको भन्दै त्यसबाट रोक्न यस्ता कार्यक्रम गरिनुपर्ने बताए । ‘हाम्रा युवाहरू गलत बाटोमा जानुअघि नै उनीहरूलाई सही मार्गदर्शन गर्नुपर्छ । लागुऔषधले व्यक्ति, परिवार र समाजलाई कत्तिको हानि पुर्याउँछ भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ,’ अध्यक्ष काफ्लेले भने । उनले यस्ता सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘शिक्षण संस्थाहरूमा पुगेर विद्यार्थीहरूलाई सचेत बनाउनु हाम्रो सामाजिक दायित्व हो,’ उनले भने ।

यस कार्यक्रमको संयोजकत्व महासचिव अरुण कुमार ठाकुर ब्राह्मणले गरेका थिए । विद्यार्थीहरूलाई सहजीकरणमा प्रहरी नायब निरीक्षक आकाश कार्की, प्रहरी हवल्दार दोर्जे पराजुली र पूर्व दुव्र्यसनीका प्रशिक्षक कपिल आचार्यले गरेका थिए । उनीहरूले विद्यार्थीहरूलाई लागुऔषधको हानिकारक प्रभाव, यसबाट कसरी बच्ने र पूर्व दुव्र्यसनीका अनुभवहरू सुनाएर सचेत बनाएका थिए । प्रहरी निरीक्षक कार्कीले कानुनी पक्षबारे जानकारी दिँदै लागुऔषध सेवनका कारण कस्ता कानुनी समस्याहरू आउन सक्छन् भन्ने बारेमा विस्तृत जानकारी दिए ।
कार्यक्रममा हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले विद्यार्थीहरूका लागि यस्ता जनचेतनामूलक कार्यक्रम अपरिहार्य रहेको बताए । उनले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा कलेजको पूर्ण सहयोग रहने बताए । ‘हाम्रा विद्यार्थीहरूलाई समाजका नकारात्मक प्रभावहरूबाट बचाउन यस्ता कार्यक्रमहरू निकै महत्वपूर्ण छन्,’ प्रमुख सापकोटाले भने ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप कुमार दास, एनसीडिए कोशी प्रदेशका उपाध्यक्ष सुदिनध्वज श्रेष्ठ, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी अन्मोल खड्काकालगायतका उपस्थिती रहेको थियो ।

संघले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यसअघि कोशी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर संघको स्थापना दिवस मनाउन थालेको छ ।