हरिपुरको केराबारीबाट ५३७ किलो गाँजा बरामद, एक जना पक्राउ

सुनसरी।सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित केराबारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार राति १२ बजे तिर विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा ५३७.१४० किलो गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय भण्टाबारीका प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको टोली र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर भण्टाबारीका सशस्त्र प्रहरी डिएसपी केदारजंग थापाको टोलीले संयुक्त रुपमा कारबाही सञ्चालन गरेको हो।

टोलीले हरिपुरको केराबारीस्थित एक धानबारीमा लुकाइ–छिपाई राखिएको अवस्थामा १३ वटा प्लास्टिकका बोरामा गाँजा फेला पारेको हो। सो क्रममा हरिपुर–७ बस्ने ४५ वर्षीय दिनेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

प्रहरीले लागू औषध ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाएको छ।

Add a Comment