नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने

विराटनगर । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ५०० रुपैयाँ रहेको छ।

चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार १५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् बिहीबार चाँदीको मूल्य २ हजार २०० रुपैयाँ थियो। त्यसैगरी बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच महासंघले सुनमा प्रस्तावित विलासिता कर आगामी साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट पारेको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँगको परामर्श अनुसार मिति २०८२ साउन १ गतेअघि सो विलासिता कर लागू नहुने जानकारी प्राप्त भएको छ।’

महासंघले उक्त करको खारेजीको माग गर्दै सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र कूटनीतिक पहल जारी रहेको जनाएको छ।