युद्धग्रस्त इजरायलबाट फर्कन ६ सय नेपालीले नाम दर्ता
विराटनगर । युद्धग्रस्त इजरायलबाट स्वदेश फर्कन ६ सय जना नेपालीले नाम दर्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबारसम्म इजरायलमा रहेका र नेपाल फर्कन चाहने नेपालीहरुले अनलाइन पोर्टलमार्फत् विवरण दर्ता गराएका हुन्।
इजरायल र इरानबीच जारी युद्धका कारण त्यहाँको अवस्था जोखिमपूर्ण बनेपछि नेपाल सरकारले आफ्ना नागरिकका लागि सुरक्षित उद्धारको तयारी थालेको हो। उक्त उद्धेश्यका लागि परराष्ट्र मन्त्रालयले नेपाली दूतावासमार्फत् विवरण संकलन प्रक्रिया सुरु गरेको थियो।
परराष्ट्र मन्त्रालयले हालसम्म ६ सयभन्दा बढी नेपालीले पोर्टलमा नाम दर्ता गरिसकेको जानकारी दिएको छ। मन्त्रालयले गत बुधबार दोस्रोपटक ट्राभल एडभाइजरी जारी गर्दै इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक नभए नेपालबाट ती मुलुकको यात्रा नगर्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयमा बसेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, तथा गृह मन्त्रालयको संयुक्त बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हाल इजरायल–इरान क्षेत्रमा उत्पन्न परिस्थितिअनुसार नेपालीको सुरक्षा र उद्धारका लागि सरकार गम्भीर रहेको बताइन्।
“इजरायलस्थित नेपाली दूतावास सक्रिय रहेको छ। स्वदेश फर्कन चाहने नेपालीका लागि रजिस्ट्रेसन खुलेको छ। उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामा छ,” मन्त्री राणाले बैठकमा भनिन्।
उनले जिटुजी (सरकार–सरकार) प्रक्रियाअन्तर्गत इजरायल गएका नेपालीलाई सुरक्षित स्थान वा स्वदेश फर्कन सहजीकरण गर्नु इजरायल सरकारको पनि दायित्व भएको बताउँदै आवश्यक सहयोगका लागि इजरायल सरकारसँग अनुरोध भइसकेको जानकारी दिइन्।
बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले पनि इजरायलमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै आवश्यक परेमा नेपाल फर्काउने तयारीमा सरकार लागेको बताए।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल करिब पाँच हजार ५०० देखि सात हजार नेपाली कार्यरत छन्। तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा छन्। इरानमा १८ जना नेपाली रहेको अनुमान छ।
मन्त्रालयले खाडी क्षेत्रका सबै नेपाली नियोगलाई इजरायल वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीका लागि अनलाइन भिसा लगायतका आवश्यक सहजीकरण गर्न निर्देशन दिइसकेको छ।