मंगलबार सुनको मूल्यमा ४ हजार ९०० रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

बिराटनगर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेर दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार (कात्तिक २४) सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। लगातारको वृद्धि संगै सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर तीन हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

Add a Comment