बस र माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते
विराटनगर ।चितवनको राप्ती नगरपालिकास्थित भण्डारानजिक खहरे पुलमा यात्रुबाहक बस र विद्युतीय माइक्रोबस ठोक्किँदा ७ जनाको ज्यान गएको छ। शनिबार बिहान भएको उक्त दुर्घटनामा १८ जना घाइते भएका छन्।
धनगढीबाट झापाको काँकडभिट्टाका लागि जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। अन्य मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए।
मृतकका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अन्य आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन्।