काँकडभिट्टाबाट अवैध हतियारसहित भारतीय नागरिक पक्राउ
विराटनगर। झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट अवैध हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा WB70 G 3232 नम्बरको कार जाँच गर्दा सिटमुनी लुकाइछिपाई राखिएको हतियार फेला पारेको हो। बरामद सामग्रीमा ‘MAKE IN INDIA’ लेखिएको कालो रंगको म्याग्जिनसहितको एक थान एयर पेस्तोल, पाँच राउण्ड एयर बुलेट र दुई थान खुकुरी रहेका छन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लामाको कमाण्डमा खटिएको टोलीले असार ६ गते बेलुका उक्त कारलाई नियन्त्रणमा लिई चेकजाँच गरेको थियो।
हाल पक्राउ परेका पाठकमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।