देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विराटनगर । देशभर मनसुनी वायुले प्रभाव पारेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै देशका उच्च–पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै ती प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै देशका उच्च–पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ।
विभागले बाढीपहिरो तथा डुबानको जोखिम रहेकाले नदी आसपास, भित्तो, पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।