धार्मिक, पर्यावरणीय र आर्थिक समृद्धितर्फ ‘रामायण बाटिका’ को यात्राः धनुषाधाममा शुभारम्भ

विराटनगर/ विगत केही वर्षदेखि योजना स्तरमा सीमित रहेको ‘रामायण बाटिका’ परियोजना शनिबार हनुमान जयन्तीको अवसरमा धनुषाधाममा औपचारिक रुपमा प्रारम्भ भएको छ । डिभिजन वन कार्यालय धनुषाको अगुवाइमा शनिबार स्थान छनौट गरिएको हो ।

धनुषाधामको धार्मिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै पर्यावरण, पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने उद्देश्यसहित रामायण बाटिकाका लागि स्थान छनौट गरिएको प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले जानकारी दिए ।

शर्माले यो परियोजना धार्मिक पर्यटनसँगै प्रकृति र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा हुने बताए । ‘रामायण बाटिका केवल बोटबिरुवाको संगालो हुने होइन, यो हाम्रो जीवनशैली, संस्कार र मिथिलाको मौलिकतासँग जोडिएको परियोजना हो,’ शर्माले भने, ‘यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।’

परियोजनाको स्थान छनौटको प्रारम्भिक चरणमा धनुषाधाम सब डिभिजनका शंकर नारायण झा, प्रदेश वन निर्देशनालयका सुजित कुमार झा र मनोज ठाकुर, मिथिला वाइल्ड लाइफ ट्रस्टका देव नारायण मण्डल लगायतको उपस्थिति रहेको थियो । उनीहरूले संयुक्त रूपमा सम्भावित क्षेत्रको अवलोकन गरेका थिए ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका मण्डलले रामायण बाटिका मिथिलाको जैविक विविधता संरक्षणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘धेरैपटक विकास र संरक्षणबीच द्वन्द्व देखिन्छ । तर, यस परियोजनाले दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढ्न सक्नेछ,’ उनले भने ।

स्थानीय समुदाय पनि परियोजनाको शुभारम्भप्रति आशावादी देखिएका छन् । विशेषतः युवा वर्गमा यसबाट रोजगारीका सम्भावना र पर्यटन व्यवसायको विकास हुने अपेक्षा गरिएको छ ।

धनुषाधामको धार्मिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई केन्द्रमा राखेर विकास गरिने रामायण बाटिका अबको केही महिनाभित्र पूर्णरूपमा जनमानसमा देखिने विश्वास गरिएको छ ।

हनुमान जयन्ती जस्तो पवित्र दिनमा थालनी भएको यस परियोजनालाई सामाजिक, धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

कार्यक्रममा सहभागी सम्पूर्णमा आयोजक निकायले ‘हरित धन्यवाद’ अर्पण गर्दै आगामी चरणमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *