“एकल महिलाको सशक्तीकरणका लागि महानगर सधैं साथमा रहने : उपप्रमुख कार्की”
बिराटनगर। बिराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले एकल महिलाहरूको सशक्तीकरणका लागि महानगर सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
सोमबार कुर्वे वेस्ट्रोको सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समूह, मोरङद्वारा आयोजित १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा ‘एकल महिला सुरक्षा कोष कार्यविधि निर्माण सम्बन्धी छलफल कार्यक्रम’मा बोल्दै उपप्रमुख कार्कीले महानगरपालिकाले एकल महिलालाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउने बताइन्।
“एकल महिलाहरू कुनै पनि प्रकारको हिंसामा पर्न पुगेमा महानगरपालिकाले न्याय तथा संरक्षणमा साथ दिनेछ,” उपप्रमुख कार्कीले भनिन्। उनले एकल महिलाहरूलाई संगठित भई आर्थिकरूपमा सशक्त हुनुपर्नेमा जोड दिँदै महानगर क्षेत्रभित्र कुनै पनि एकल महिला अभावमा नपर्ने व्यवस्था मिलाइने बताइन्।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रत्येक स्थानीय तहमा ‘एकल महिला सुरक्षा कोष’ स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमै एकल महिला सुरक्षा कोषको नियमावली बनाएको भए पनि देश संघीय संरचनामा गएपछि सो कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो वक्ताहरूले गरे।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०८० सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरूलाई पत्राचार गरी कोष स्थापना गर्न निर्देशन दिए पनि अधिकांश पालिकाहरूमा यसको कार्यान्वयन भएको छैन।
मोरङ जिल्ला एकल महिला समूह अध्यक्ष चुडा कुमारी भट्टराईले हाल देशभर मानव अधिकारका लागि महिला एकल महिला समूह अभियानकै रूपमा कार्यक्रम चलिरहेको जानकारी दिइन्।
राष्ट्रिय तथ्यांकअनुसार विश्वभर २५ करोड ८० लाख एकल महिला (विधवा) छन्। नेपालमा २०७८ सालको जनगणनाअनुसार ८ लाख २६ हजार १ सय ४७ जना विधवा एकल महिला रहेका छन्। मोरङ जिल्लामात्रै ३७ हजार ७ सय ५५ जना एकल महिला रहेको तथ्यांकमा उल्लेख छ।
वक्ताहरूले स्थानीय सरकारलाई एकल महिलाहरूको सामाजिक, आर्थिक सुरक्षा तथा आत्मनिर्भरता सुनिश्चित गर्न आग्रह गरेका थिए।