आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदैछ।

तनहुँको चुँदीरम्घा गाउँमा वि.सं. १८७१ सालको असार २९ गते जन्मिएका भानुभक्तले संस्कृत भाषामा रचित वाल्मीकि रामायणको नेपाली भावानुवाद गरेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। भानुभक्तले लेखेको रामायणलाई नेपाली जनजीवन, भाषा र संस्कृतिसँग जोडेर सरल र लोकलययुक्त शैलीमा प्रस्तुत गरेका कारण नेपाली जनमानसमा उनले अमिट छाप छोडेका छन्।

भानुभक्तलाई एक सामान्य घाँसीले दिएको “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने अर्तीले प्रेरणा दिँदै उनले नेपालीमा रामायण रचना गरेका थिए। उनले लेखेका अन्य कृतिहरूमा वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका फुटकर रचनाहरू छन्।

भानुभक्तले शासन प्रणालीमा व्याप्त ढिलासुस्ती र ‘भोलिवाद’को आलोचना गर्दै लेखेका उनका तीखो कविता “भोलि-भोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली” आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।

पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेजस्तै, भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई सांस्कृतिक रूपमा एकत्रित गर्न भूमिका खेलेका थिए। नेपाली जातीय एकता, सांस्कृतिक चेतना र राष्ट्रिय पहिचान निर्माणमा उनको योगदान अमूल्य रहेको विद्वानहरूको धारणा छ।

आजको दिन काठमाडौंको रानीपोखरी अगाडि रहेको भानुभक्त आचार्यको शालिकमा माल्यार्पण तथा नगर प्रभातफेरी गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। यस अवसरमा विभिन्न साहित्यिक संस्था, शैक्षिक प्रतिष्ठान र भाषा-संस्कृतिसँग सम्बन्धित संघसंस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्। घरघरमा भानुभक्तद्वारा भावानुवाद गरिएको रामायणको पाठ गर्दै भानु जयन्ती मनाउने परम्परा रहेको छ।

भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषी रहेका विदेशका विभिन्न स्थानहरूमा पनि भानु जयन्ती विशेष रूपमा मनाइँदैछ।

यद्यपि, भानुभक्तभन्दा पहिला पनि नेपाली भाषामा लेखन भएका उदाहरणहरू रहेकाले उनलाई ‘आदिकवि’ भन्न मिल्दैन भन्ने मत पनि विद्यमान छ। तर, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवालीजस्ता विज्ञहरूका अनुसार रामायणजस्तो क्लासिक ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गर्दै भाषिक एकताको जग बसाल्नुभएको कारणले भानुभक्तलाई आदिकवि मानिनु न्यायसंगत छ।

भानुभक्त आचार्यको निधन वि.सं. १९२५ सालको असोज महिनामा भएको थियो। उनका विचार र कृतिहरू आज पनि नेपाली साहित्यमा अमूल्य सम्पदाका रूपमा जीवित छन्।