मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विध्यार्थीद्वरा ४ प्रकारका अौषधी उत्पादन
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढ्ने विद्यार्थीहरुले चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन् । उत्पादित औषधिहरुको नाम ‘मनमोहन ओखती’ राखिएको छ ।
विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ औषधि विज्ञानमा स्नातक अध्यनरत विद्यार्थीहरुको समूहले आफ्नै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका हुन् ।
भारतको पतञ्जली आर्युवेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा. सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समूहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स, बाम, सन्चो जस्तै चार प्रकारका औषधि उत्पादन गरेका हुन् ।
डा. शुक्लाको नेतृत्वमा विद्यार्थीहरुले सन्चो र भिक्स अनि दुई प्रकारका बाम (लोसन) उत्पादन गर्न सफल भएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए ।
उनका अनुसार र थप औषधि उत्पादन गर्न अनुसन्धान भइरहेको छ । सरकारले प्रवर्द्धन गरेमा विश्वविद्यालय आफैले उत्पादित औषधिहरु चाँडै बजारमा लैजाने भएको छ । मनमोहन ओखती उत्पादन गर्दा कोशी प्रदेशमै पाइने जडिबुटीहरुको प्रयोग गरिएको छ ।
नेपाली जडिबुटी प्रयोग गरेर मधुमेह रोग उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी औषधि उत्पादन गर्नेबारे पनि विज्ञहरुको समूहले अनुसन्धान गरिरहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा एप्लाइड एण्ड हेल्थ साइन्स स्कुल अन्तर्गत स्नातक तहमा फार्मेसी विज्ञानमा पठनपाठन गराइरहेको छ ।
उक्त विषयमा विद्यार्र्थीलाई व्यावहावरिक अनुसन्धानका लागि अमेरिकी प्रविधिमा आधारित आफनै गुणस्तरिय ल्यावहरु निर्माण गरिएको छ ।
यसैगरी सीपमूलक प्राविधिक शिक्षा प्रदान गर्ने र उच्च शिक्षालाई खोज अनुसन्धानमूलक बनाउन मनमोहनले आफैं अनुसन्धान केन्द्र स्थापना गरेको छ । केन्द्रमा हाल १० किसिमका अनुसन्धान भइरहेको छ ।
अनुसन्धान केन्द्रले विज्ञान प्रविधि, इन्जिनियरिङ, चिकित्सा, कृषि, बन तथा वातावरणको क्षेत्रमा कोशी प्रदेशका विद्यार्थी र युवा बैज्ञानिकहरुलाई सहयोग गरिरहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी वर्षदेखि शिक्षण अस्पताल प्राप्त भएसँगै मेडिकल तर्फको विभिन्न प्राविधिक विषयहरु प्नि पठनपाठन गर्ने तयारी थालेको छ ।
२०७६ मा स्थापना गरेको मनमोहनले आन्तरिक कानुनहरु बनाएर २०७८ देखि इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स, एप्लाइड हेल्थ स्कुलतर्फ फार्मेसी विज्ञानमा स्नातक र अस्पताल व्यावस्थापनमा स्नातोकोत्तर, कानुनमा देशमै पहिलो पटक विविए एलएलबी स्तानक र स्नातोकोत्तरतर्फ अपराध शास्त्रमा एलएलएम विषयमा पठनपाठन गराइरहेको छ ।