झापा र सुनसरी बाट लागू औषध गाँजा सहित ३ जना पक्राउ
विराटनगर। झापा र सुनसरी जिल्लाबाट लागू औषध गाँजा सहित ३ जना पक्राउ परेका छन्। विभिन्न स्थानमा गरिएको प्रहरी अनुसन्धान तथा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थितबाट असार १२ गते प्रहरीले चेकजाँच गर्ने क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्र ७५ किलोग्राम गाँजा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको थियो। उक्त गाँजा बरामद गरेसँगै अटो चालक, ईटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–६ निवासी ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० वर्षीय रोशन भट्टराईलाई १ किलो ८८८ ग्राम ६३० मिलिग्राम गाँजा सहित शनिश्चरेस्थित प्रहरी चौकीले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।