श्रीकृष्ण गौ सेवा सदनका ८ कर्मचारीको बीमा गराउँदै विराट व्यापार संघ
विराटनगर । विराट व्यापार संघको केन्द्रीय कार्यालय विराटनगरले आफ्नो २५औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनका ८ जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले दुर्घटना बीमा गराएको छ।
शुक्रबार गौ सेवा सदनमा आयोजित विशेष कार्यक्रममा संघले कुल १६ लाख रुपैयाँ बराबरको बीमा गराएको हो। कार्यक्रममा गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाल, संघका अध्यक्ष अंशु बन्जरासहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, निवर्तमान तथा पूर्वअध्यक्षहरूको उपस्थिति थियो।
अध्यक्ष बन्जराले गाईको सेवा गर्ने कर्मचारीहरूलाई लक्षित गर्दै गरिएको बीमा कार्यक्रमलाई “फरक तरिकाको सामाजिक उत्तरदायित्व”को उदाहरणका रूपमा प्रस्तुत गरे। उनले भने, “गाईको रेखदेख गर्ने कर्मचारी खुसी भए भने गाई आफैँ खुसी हुन्छ। त्यसैले हामीले कर्मचारीको सुरक्षाका लागि बीमा गराएका हौँ।”
गौ सेवा सदनमा पुग्ने उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले गाईलाई घाँस तथा मिष्ठान्न खुवाउने परम्परा छ। तर, यसपालि विराट व्यापार संघले त्यो परम्परालाई एक कदम अघि बढाउँदै गाईको सेवा गर्ने कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले व्यापार संघको यो कदमलाई अनुकरणीय सामाजिक कार्यको रूपमा सराहना गरे।