भारतलाई पछी पार्दै नेपाद्वारा सर्वाधिक पदक जित्दै उत्कृष्ट प्रदर्शन

विराटनगर। विराटनगरस्थित डीपीएस स्कूलको आयोजना तथा मोरङ स्केट एसोसिएसनको संयोजनमा सम्पन्न ११औं भारत–नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा नेपालले सर्वाधिक पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

नेपालले प्रतियोगितामा २८ स्वर्ण, १० रजत र १२ काँस्य पदक जित्दै पहिलो स्थान हात पार्‍यो। भारतले २२ स्वर्ण, १ रजत र ६ काँस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने भारतकै फर्बिसगंजस्थित रामदेव बाबा स्कुलका खेलाडीले ७ स्वर्ण, २ रजत र ३ काँस्य पदक जित्दै तेस्रो स्थान हासिल गरे।

प्रतियोगिता दुई विधामा—लङ रेस (४ सय र ८ सय मिटर) र सर्ट रेस (१ सय र २ सय मिटर)—गराइएको थियो। स्केटिङ दौडका यी स्पर्धाहरू विभिन्न उमेर समूहमा विभाजन गरिएका थिए। दुवै विधामा नेपाली खेलाडीले वर्चस्व कायम गरेका थिए।

मोरङ स्केट एसोसिएसनका अध्यक्ष सुरज कामतले प्रतियोगितामा नेपाल र भारतका विभिन्न प्रदेशबाट ७० जना खेलाडी सहभागी भएको जानकारी दिए। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू केन्यामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिएको पनि उनले बताए।

उनले स्केटिङ जस्ता खेलमा स्थानीय तहबाट आवश्यक सहयोग र प्राथमिकता नपाएको गुनासो गर्दै सरकार र पालिकालाई खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे।

समापन समारोहमा मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे। सो अवसरमा रामदेव बाबा स्कुलका प्रबन्ध निर्देशक रश्मी अग्रवाल, समाजसेवीहरू, खेलाडीका अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो।
फोटो


Add a Comment