पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा निगमले मंगलबार (असार १८) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रति लिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा ४ रुपैयाँको वृद्धि गरिएको छ।
आन्तरिक हवाई इन्धनमा पनि ७ रुपैयाँले मूल्य बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रति किलोलिटर ६० अमेरिकी डलरले वृद्धि गरिएको निगमले जानकारी दिएको छ।
निगमले मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको वृद्धि रहेको जनाएको छ। मूल्य समायोजन गर्दा पनि निगमलाई अझै हानी भइरहेको दाबी गर्दै निगमले आवश्यक परे आगामी दिनमा पुनः समायोजन हुन सक्ने संकेत गरेको छ।