सर्लाहीमा गोली प्रहार : एकजनाको मृत्यु, एक घाइते प्रहरी नियन्त्रणमा

विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ। शुक्रबार साँझ आफ्नै घरको आँगनमा छिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले यादवलाई गोली हानेका थिए।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका एक जनाले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवलाई तत्काल महोत्तरीको सोनामा गाउँपालिकास्थित एक स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार, दुईजना अपरिचित व्यक्तिहरू समूहमा बसेका बीचमै आएर “रामपुकार को हो?” भनी सोधपुछ गरेरै गोली प्रहार गरेका थिए। घटना पछि भाग्दै गर्दा गोली प्रहार गर्ने मध्ये एकजनाको मोटरसाइकल बसन्तपुरमा दुर्घटनाग्रस्त भएको थियो। सोही क्रममा एक जना घाइते प्रहरी निगरानीमा रहेर जनकपुरमा उपचाररत छन् भने अर्का फरार भएका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र खोजी कार्य तीव्र पारिएको छ।

मृतक यादव विगतमा मलंगवास्थित एक निजी विद्यालयमा अध्यापन पेसामा संलग्न रहे पनि पछिल्ला वर्षमा खेतीपातीमा सक्रिय थिए। गाउँमा उनले केही रकम ऋण लगानी गरेको बताउँदै आएका स्थानीयले यस घटनाले त्रास फैलाएको जनाएका छन्।

Add a Comment