नेपाल वायुसेवा निगमको ६७ वर्षे यात्रा: विगतको गौरव, वर्तमानको चुनौती
विराटनगर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज आफ्नो ६७ औँ वार्षिकोत्सव मनाउँदैछ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी–३ डाकोटा विमानबाट व्यावसायिक सेवा सुरु गरेको थियो।
हाल निगमसँग दुई थान वाइडबडी ए–३३०–२०० र दुई थान न्यारोबडी ए–३२० सिरिजका विमानमार्फत भारत, हङकङ, मलेसिया, थाइल्याण्ड, जापान, कतार, युएई र साउदी अरबजस्ता अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भैरहेको छ।
आन्तरिकतर्फ भने निगमसँग दुई थान ट्वीनअटर विमान मात्रै उपलब्ध छन्। विमान अभावका कारण आन्तरिक बजारमा निगमको उपस्थिति खस्कँदो छ।
विगत वर्षहरूमा औपचारिक समारोहसहित भव्यताका साथ वार्षिकोत्सव मनाउने गरेको निगमले पछिल्ला वर्षहरूमा सामान्य कार्यक्रममार्फत वार्षिकोत्सव मनाउँदै आएको छ। यस वर्ष निगमले मैत्रीपूर्ण फुटबल प्रतियोगिता, कविता वाचन तथा टेबल टेनिस प्रतियोगिता आयोजना गरेको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा सातदोबाटोस्थित एन्फा मैदानमा भएको फुटबल प्रतियोगितामा निगमका पुरुष, महिला र कार्यकारी समूहबीच प्रतिस्पर्धा भएको थियो। आज बिहान केन्द्रीय कार्यालय परिसरमा प्रभातफेरीसमेत गरिएको छ।
सुधार र चुनौती
६७ वर्षको लामो इतिहास बोकेको निगम हाल ५० अर्ब रुपैयाँभन्दा बढीको ऋण दायित्वमा रहेको छ। वाइडबडी विमान खरिदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण, प्रतिस्पर्धात्मक बजेट एयरलाइन्सहरूका कारण निगमको बजार हिस्सा खस्किएको बताइन्छ।
निगमको व्यवस्थापन सुधारका लागि पटक–पटक अध्ययन समिति गठन भए पनि तिनको सिफारिस कार्यान्वयन हुन नसकेको इतिहास रहेको छ। यद्यपि, निगमले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा र व्यापार प्रवर्द्धनमार्फत आफ्नो साख जोगाउने प्रयास गरिरहेको छ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार वाइडबडी विमानहरू पूर्ण क्षमतामा सञ्चालनमा छन्। आन्तरिक बजारमा सेवा विस्तार गर्न विमानको अभाव रहेको र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तारका लागि पहल भइरहेको जानकारी उनले दिए।