लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ
विराटनगर ।झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का २६ वर्षीय विर बहादुर राजबंशीलाई ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैबीच, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर–१५ स्थितबाट मोरङको शनिश्चरे–८ का ३२ वर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले चेकजाँचका क्रममा धरान–१३ मा यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय देवानगंज, सुनसरीले देवानगंज–३ का १८ वर्षीय राजकुमार यादवलाई उनको घरबाट ६ किलो २८० मिलिग्राम गाँजासहित नियन्त्रणमा लिएको हो। उक्त लागू औषध कारोबारमा संलग्न १८ वर्षीय राजु यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले लागू औषध कारोबार तथा प्रयोग नियन्त्रण गर्न सघन अभियान जारी राखेको छ।